पृष्ठभुमी

वि.सं. २०५२ सालमा कृषि विकास विभागको संगठनमा पुनः हेरफेर गरि तत्कालिन कृषि विकास विभागबाट कृषि विभाग, पशु सेवा विभाग र केन्द्रिय खाद्य अनुसन्धान प्रयोगशाला समेत गरि तीन फरक फरक विभाग खडा भए । सोही बमोजिम खाद्यान्न, दलहन तथा औद्योगिक बालीहरुको विकास तथा विस्तारका कार्यक्रमहरु कृषक एवं जिल्लास्तरमा सञ्चालन गर्ने, केन्द्रीयस्तरमा सरोकारवाला निकायहरु विच समन्वय र सहकार्य गर्ने र वाली विकासका राष्ट्रिय नीति तथा मापदण्ड एवं कार्यविधिहरु तर्जुमा एवं नियमन सम्वन्धी कार्य गर्नका लागी कृषि विभाग अन्तर्गत वि.सं. २०५२ सालमा बाली विकास महाशाखाको स्थापना भएको थियो । यसैगरी वि.सं. २०५७ सालमा बाली विकास महाशाखाको नाम परिवर्तन गरी बाली विकास निर्देशनालय रहन गयो । पुनः वि.सं. २०६०/६१ मा परिमार्जन गरिएको कृषि विभागको संरचना अनुसार बाली विकास निर्देशनालय अन्तर्गत १ वटा राष्ट्रिय औद्योगिक बाली विकास कार्यक्रम र ५ वटा क्षेत्रीय वीउ विजन परीक्षण प्रयोगशालाको स्थापना भएको  थियो ।

 

नेपालको संविधान २०७३ ले निर्दिष्ट गरे बमोजिम राज्यको पुनःसंरचना संगै वि.सं. २०७५ सालमा उपरोक्त साविकका संरचनाहरुबाट सम्पादन गरिने कार्यहरु मध्ये विउविजन प्रयोगशाला सेवा बाहेक अन्य कार्य विवरणहरुलाई यथावत राख्दै कृषि जैविक विविधता सम्वध्द विषयमा समेत राष्ट्रियस्तरमा विशेषज्ञ सेवा प्रदान गर्ने तथा राष्ट्रिय फोकल कार्यालयको रुपमा कार्य गर्ने, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण, सम्बर्द्धन एवं प्रवर्द्धन सम्बन्धि राष्ट्रिय नीति, मापदण्ड तर्जुमा तथा नियमन गर्ने लगागतका कार्यहरु गर्ने गरी संघिय निकायको रुपमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, श्रीमहल, ललितपुरको स्थापना गरिएको छ । यस केन्द्र अन्तर्गत २ वटा श्रोत केन्द्रहरु क्रमशः कृषि विकास केन्द्र, सुन्दरपुर र कृषि विकास केन्द्र, चन्द्रडाँगी रहेका छन् ।